काठमाडौं । एसिया कप क्रिकेट आज (शनिबार) बाट संयुक्त अरब इमिरेट्स युएईमा सुरु हुँदैछ । एकदिवसीय फर्म्याटको एसिया कपमा एसियाका ६ टेष्ट राष्ट्र र एक एसोसियट राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
एसिया कपको उद्घाटन खेलमा समूह 'बि' मा रहेका टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन खेल नेपाली समय अनुसार बेलुका ५:१५ बजे दुबईमा सुरु हुनेछ ।
दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् । बंगलादेश माश्रफ मोर्टाजाको कप्तानीमा मैदान उत्रनेछन् । यस्तै श्रीलंकाको कप्तानी एन्जेलो म्याथ्युजले गर्नेछन् ।
एसिया कपको समूह 'बि' मा बंगलादेश र श्रीलंकासंगै अफगानिस्तान पनि रहेका छन् । समूह 'ए' मा भारत, पाकिस्तान र हङकङ रहेको छ ।
हङकङ एसिया कप खेल्ने एकमात्र एसोसियट राष्ट्र हो । गत साता मलेसियामा सम्पन्न एसिया कप छनोटको उपाधि जितेर हङकङले एसिया कपको टिकट काटेको हो । नेपाल भने एसिया कपको छनोटको शीर्ष दुईमा पर्न असफल भएको थियो ।