काठमाडौं । मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने भएको छ ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ९ देखि १९ गतेसम्म हुने जानकारी गराएको हो ।
प्रतियोगितामा नेपालको दुई टिम र चार विदेशी टिम गरि ६ टिम हुने आयोजकले जनाएको छ । नेपालबाट रातो र नीलो गरि दुई टिम हुनेछ । प्रतियोगितामा भुटान आउने पक्का भएको आयोजकले जनाएको छ । भुटानले यू-२३ टोलीलाई पठाउने छ ।
अन्य तीन विदेशी टोलीको तय नभएको एकेडमीले जनाएको छ । तर, एकेडमीले दक्षिण कोरिया, चीन, बंगलादेश, भारत र थाइल्याण्डलाई पत्राचार गरिसकेको जनाएको छ ।
दशरथ रंगशालामा हुने प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै लिगको आधारमा खेल खेलाइनेछ । लिगपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
विजेताले २५ हजार अमेरिकी डलर पाउनेछन् । यस्तै दोस्रो हुनेलाई १० हजार अमेरिकी डलर प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई समान १/१ हजार अमेरिकी डलर दिइने आयोजकले जनाएको छ ।
यस्तै आयोजक एकेडमीले प्रतियोगितालाई मान्यता दिलाउन फिफा र एएफसीसंग पहल भईरहेको जनाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाबाट भने प्रतियोगिता स्वीकृत भईसकेको आयोजकले जनाएको छ ।