काठमाडौं । भारतमा जारी चौकोणीय यू-१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
लगातार दोस्रो हार बेहोर्ने क्रममा नेपाल शुक्रबार भारतको 'ए' टोलीसंग ८ विकेटले पराजित भयो । दोस्रो हारसंगै सिरिजको फाइनल खेल्ने नेपालको सम्भावना कमजोर बनेको छ ।
लखनउमा नेपालले दिएको १५७ रनको लक्ष्य भारतले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा वाई भी राठोदले अविजित ५९ तथा प्रभसिमरण सिंहले अविजित ४६ रन जोडे ।
यस्तै कप्तान अनुज रावतले ४७ रन जोडे । नेपालका पवन शारफ र कमल सिंह ऐरीले समान १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन जोडे । भारतका अजय देव गड र याई डी माङवानीले ४/४ विकेट लिए ।
अब नेपालले अफगानिस्तानको यू-१९ टोलीसंग खेल्नेछ । यस अघि पहिलो खेलमा नेपाल भारतको यू-१९ को 'बि' टिमसंग ४० रनले पराजित भएको थियो । भारतको 'ए' टिमको भने यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा अफगानिस्तानको यू-१९ टोलीलाई १४० रनले हराएको थियो ।
भारतीय क्रिकेट बोर्डको आयोजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू-१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।