काठमाडौं । काठमाडौंको टुँडिखेलमा चार वटा फुटबल मैदानको निर्माण कार्यले तीव्रता पाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मैदान निर्माण कार्यलाई तीव्रता दिदै दोस्रो चरणमा शुक्रबारबाट गोल पोस्ट राख्ने काम सुरु गरेको छ ।
यस्तै एन्फाले केहि दिनमा मैदान खेल्न योग्य हुने बताएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले मैदानमा गोल पोस्ट राख्न सुरु गरेको जनाउदै फेसबुकमा लेखेका छन्, 'आज टुँडिखेलमा गोल पोस्ट राख्ने कार्यको थालनी भयो । केहि दिनमा खेल्न उपयुक्त हुनेछ ।'
एन्फाले राजधानीका ‘ए’ र ‘बी’ डिभिजनका क्लब र आम मानिसलाई अभ्यास गर्न मिल्ने गरि चार फुटबल मैदान बनाउने काम अघि बढाएको हो ।
टुँडिखेलमा बन्दै गरेको मैदानमध्ये दुई मैदान अन्तर्राष्ट्रिय स्तरको र दुई सेभेन ए साईड हुने एन्फाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको स्विकृती र नेपाली सेनाको सहयोगमा बन्दै गरेको मैदानको पहिलो चरणमा एन्फाले टुँडिखेलको घाँस र झारहरु काट्ने काम गरेको थियो ।
असोजबाट हुने सहिद स्मारक 'ए' डिभिजन लिग तयारीमा रहेका मैदान नभएका काठमाडौंका क्लबहरुले टुँडिखेलमा अभ्यास गर्नेछन् ।
तस्विर: एन्फा अध्यक्ष शेर्पाको फेसबुक