एजेन्सी । इन्टर मिलानका डिफेन्डर स्टेफन डी भ्रिजले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भन्दा फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट रहेको बताएका छन् ।
२६ बर्षीय डच डिफेन्डर भ्रिजले पाँच पटकका बेलोन डि'ओर विजेता रोनाल्डो युभेन्ट्स आउनु सकारात्मक भएको बताए ।
‘इटालियन सिरी–ए फुटबलमा रोनाल्डोको आगमन सकरात्मक थियो । उनको आगमनले पुरै प्रतियोगितालाई फाइदा दिन्छ,’ डिफेन्डर भ्रिजले भने ।
तर, उनले रोनाल्डोले एमबाप्पे जति राम्रो खेल पस्किन नसक्ने दाबी गरे । फ्रान्सले रुस विश्वकप जित्दा एमबाप्पे उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भ्रिजले थपे, ‘मैले सन् २०१४ मा विश्वकप पहिले पोर्चुगलसँग मैत्रीपूर्ण खेल खेलेको छु । हामीले १–१ को बराबरी खेलेका थियौ। रोनाल्डोले कर्नरमा गोल गरेका थिए ।'
सबैभन्दा कडा प्रतिद्वन्दी को हो भन्ने पत्रकारको प्रश्नमा भ्रिजले भने, 'उ हो एमबाप्पे ।'
यस्तै डिफेन्डर भ्रिजले रोनाल्डोले सिरी–ए मा स्पेनिस लिगमा जस्तो प्रभाव पार्न नसक्ने बताए ।
रियल मड्रिडलाई चार च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले सिरी - ए फुटबलमा गोल गर्न सकेका छैनन् । रोनाल्डोले युभेन्ट्सबाट ३ खेल खेलिसकेका छन् ।