काठमाडौं । भारतमा जारी चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालको यू-१९ टोलीले भारतको यू-१९ 'ए' टोलीलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ ।
लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको हो । नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन जोडे । भारतका अजय देव गड र याई डी माङवानीले ४/४ विकेट लिए ।
पहिलो खेलमा पराजित नेपाल भारतको 'ए' टिमविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको हो । सिरिज दोस्रो चरणमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब समेत रहेको छ ।
पहिलो खेलमा नेपाल भारतको यू-१९ को 'बि' टिमसंग ४० रनले पराजित भएको थियो । भारतको 'ए' टिमले भने अफगानिस्तानको यू-१९ टोलीलाई १४० रनले हराएको थियो ।
भारतीय क्रिकेट बोर्डको योजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू-१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।