काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एपीवान एचडी टेलिभिजनसंगको फुटबल प्रयोजन सम्झौता तोडेको छ । नेपाली फुटबलको बिज्ञापन र ब्रोडकास्टिङ अधिकार एपीवान टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भीक नभएको निष्कर्श निकाल्दै एन्फाले एपीवानसंगको फुटबल प्रयोजन सम्बन्धि सम्झौता तोडेको हो ।
‘उहाँहरुको सल्लाहमै प्रायोजन सम्बन्धि सम्झौता रद्ध भएको छ । हामीले लिग फुटबलकालागि नयाँ सम्झौता गरेका छौ ।’ एन्फा प्रवक्ता किरण राईले भने । गत बर्ष जेठमा एन्फा र एपीवानबीच ३ बर्षकालागि करिब ५ करोडको प्रायोजन सम्झौता भएको थियो ।
सहमती अनुसार एपीवानले फुटबल प्रतियोगिताको प्रशारणसंगै मार्केटिङ र स्पोनसरसिपको अधिकारसमेत एपीवानले पाएको थियो । जस अनुसार एपीवानले एन्फालाई बार्षिक १ करोड ७५ लाख रुपैयाँ प्रदान गर्ने सहमती थियो ।
अघिल्लो कार्यसमितिको निर्णयलाई उल्ट्यादै एन्फाले एपीवानसंगको सम्झौता रद्ध गरेको हो । एन्फाले सहिद स्मारक ए डिभिजन लिगको प्रायोजनमात्र बार्षिक १ करोडमा रामशर मिडिया प्रालीलाई बेचेको छ ।
‘अब सहिद स्मारक ए डिभिजन लिगको प्रायोजकको रुपमा मात्र रामशर मिडिया प्रालिले एन्फालाई पहिलो बर्ष एक करोड, दोस्रो बर्ष डेढ र तेस्रो बर्ष २ करोड दिनेछ ।’ प्रवक्ता राईले भने ।
योसंगै आगामी असोजको दोस्रो हप्ताबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजक रामशर मिडियाले उपलब्ध गराउनेछ । जसवापत रामशर मिडियाले सहिद स्मारक ए डिभिजन लिगको मार्केटिङ र स्पोनसरसिपको अधिकार पाएको छ ।
लिगका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने पाँच मोटरसाईकलमा एन्फाले मात्र प्रतिमोटर साईकल १ लाख दिनेछ । बाँकी रकम रामशर मिडिया प्रालिले उपलब्ध गराउनेछ ।
प्रवक्ता राईका अनुसार अर्को बर्ष एन्फाले गर्ने राष्ट्रिय लिग र एन्फा प्रेसिडेन्ट लगायत अन्य विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताकालागि छुट्टै प्रायोजन खोज्नेछ । प्रशारण अधिकार लगायत अन्य विभिन्न प्रतियोगिताको प्रायोजन सम्झौताको बिषयमा एन्फाले थप निर्णय गर्नेछ ।