एजेन्सी । जेम्स एण्डरसनले अन्तिम विकेट लिदै टेष्ट क्रिकेटको सर्वाधिक सफल फास्ट बलर बनेको खेलमा घरेलु टोली इङ्ल्याण्डले इन्डियालाई १ सय १८ रनले पराजित गरेको छ । द ओभलमा भएको खेलमा जित हात पारेसंगै पाँच म्याचको टेष्ट सिरिज इङ्ल्याण्डले ४–१ ले जितेको छ ।
अन्तिम खेलमा केएल राहुल र ऋषभ पन्तले सतक प्रहार गरेपनि पाहुना टोलीलाई हारबाट जोगाउन सकेनन् ।
४ सय ६४ को विजयी लक्ष्यसाथ मैदान उत्रिएको इन्डियाले अलआउट हुदै ३ सय ४५ रनमात्र बनाउन सक्यो । सुरुवाती व्याट्सम्यानलाई सस्तैमा गुमाएको इन्डियाकालागि राहुल र पन्तले २ सय ४ रनको साझेदारी गर्दै पाहुना टोलीको आशालाई जिवितै राखेका थिए ।
तर अन्तिम तीन विकेटको पतन चाँडो भएपछि घरेलु टोलीले पाँचौ टेष्टलाई समेत आफ्नो पक्षमा पार्न सफल भयो ।
रविन्द्र जडेजा र इशान्त शर्मालाई साम कुरनले आउट गराउदा मोहमद शामीलाई एन्डरशनले शुन्य रनमा बोल्ड गर्दै खेल सकाएका थिए ।
अन्तिम टेष्टको दोस्रो इनिङ्समा ३ विकेट लिएसंगै एन्डरशन टेष्ट क्रिकेटका सर्वाधिक सफल फास्ट बलर बनेका छन् ।
अदिल रसिदल र साम कुरनले समान २\२ विकेट लिएका थिए ।