काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय लालबन्दी गोल्डकपको उपाधि विभागिय टिम एपीएफले जितेको छ । आज भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २ - १ ले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक बनेको ३० औं मिनेटमा प्रविन स्याङतानले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए । ७५ औं मिनेटमा एपीएफका रमेश दंगालले आत्मघाती गोल गरेपछि पुलिस खेलमा फर्किएको थियो । तर, खेलको ७८ औं मिनेटमा एपीएफका रुप बहादुर लामाले गोल गर्दै एपीएफलाई २ - १ को जित दिलाए ।
उपाधिसँगै एपीएफले ७ लाख प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ३ लाख ५० हजारमा चित्त बुझाएको छ ।
प्रतियोगितामा उदयमान खेलाडी बन्दै सर्लाही ११ का सनि चौधरीले यामाहाको स्यालुटो बाइक प्राप्त गरे। उत्कृष्ट खेलाडी बनेका एपीएफका प्रविन स्याङतानले ५० हजार प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ एपीएफका राजु नगरकोटी उत्कृष्ट गोलकिपर, पुलिसका अजित भणडारी डिफेन्डर, पुलिसका रबी पासवान मिडफिल्डर र एपीएफका नविन लामा उत्कृष्ट फरवार्ड चुनिए । एपीएफका प्रशिक्षण गणेश लावती उत्कृष्ट प्रशिक्षक बने ।
फाइनल खेलको दौरान सर्लाहीबाट फुटबल खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी बन्न पुगेका उषा भणडारीलाई नगद २५ हजारबाट सम्मानित गरिएको थियो । यस्तै जुमनु राई,आदित्य चौधरी,रोजित केसी र टेक बहादुर बुढाथोकीलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
फाइल तस्विर