चितवन । गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणी टिमले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा नारायणीले बागमती टिमलाई सुपओभरमा ५ रनले पराजित गर्दै फाइनलको सम्भावना बलियो पारेको हो ।
निकै रोमाञ्चक खेलमा १ सय १८ रनको लक्ष्य नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनायो ।
उसका आरिफ शेखले ४ छक्का र १ चौकाको मद्दतले सर्वाधिक ४४ रन बनाए ।
यस्तै सिद्दान्त लोहनीले अविजित २० रन, इशान पाण्डेले १३ तथा सुबास खकुरेलले ११ रन बनाए ।
नारायणीका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बागमतीका सोमपाल कामीले २ तथा पवन सर्राफ, ललित राजबंशी, बिक्रम सोब र सगर ढकालले १/१ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको बागमती टिमले १ सय १७ रन बनाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको बागमतीको लागि ओपनर सुनिल धमला र अलराउण्डर बिक्रम सोबले सर्वाधिक ३७/३७ रन बनाएका थिए ।
धमलाले ३७ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।
खराब सुरुवात गरेको बागमतीको इनिङ्स उकास्न बिक्रम सोब र राशिद खानले अर्धशतकीय रन को साझेदारी गरे ।
५० रनमा ५ विकेट गुमाएको बागमतीको लागि सोब र खानले आक्रामक ब्याटिङ गरेका थिए ।
बिक्रम सोबले ३७ रन बनाउन ३१ बलमा ३ छक्का र २ चौका प्रहार गरे। रशिदले २२ रनको योगदान गरे ।
अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नारायणी टिमका शाहाब आलमले ३ विकेट हात पारे। यस्तै दिपेश श्रेष्ठले २ तथा करन केसी, सुशन भारी र किशोर महतोले १/१ विकेट हात परे ।
आइतबार राप्ती टिमले बागमतीसंग खेल्ने छ ।
कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा तिन टिमको सहभागिता रहेको छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहित विभिन्न उमेर समूहका खेलाडी र चितवनका स्थानीय खेलाडीलाई टोलीमा समावेश गरिएको छ ।
सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शिर्ष दुई टिम फाइनल पुग्नेछन्।
मंसिर ३० गते फाईनल खेल हुनेछ ।