काठमाडौं । भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । भारतको दुई घरेलु टोली र अफगानिस्तान सम्मलित एकदिवसीय सिरिजकालागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो ।
आशिफ शेखको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा तिर्थराज दास, रवि शाह, विपिन रावल, लोकेश वम, रितु गौतम, पवर सरार्फ, किशोरा महतो र रसिद खान रहेका छन् । त्यस्तै, भिम शार्की, कमलसिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहमद संसाद आलम रहेका छन् ।
आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्काको टोलीले खेलाडी छनोट गरेको हो । कोलकातामा हुने सिरिजमा नेपालसहित भारतको यू १९ टोली, भारतकै नेसनल क्रिकेट एकेडमी (एनसीए) र अफगानीस्तानको यू १९ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले सिरिजकालागि नेपाली टिमलाई आमन्त्रण गरेको थियो ।
भारतले यो सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । सिरिज सेप्टेम्बर ९ देखि २० सम्म चल्नेछ ।
पहिलो खेलमा नेपालले सेप्टेम्बर १२ मा एनसीएसंग जादभपुर युनिभर्सिटीको मैदानमा खेल्ने छ । यस्तै सेप्टेम्बर १४ मा नेपालले भारतसंग इडेन गार्डेन्समा खेल्नेछ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसंग सेप्टेम्बर १६ मा खेल्नेछ ।
नेपाली टिम आगामी सेप्टेम्बर १० मा भारत प्रस्थान गर्ने कार्यक्रम तय गरिएकाे छ ।