काठमाडौं । कोरोना भाईरसको महामारीको कारण करिब ९ महिनाबाट राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले सामुहिक अभ्यास गर्न पाएका छैन् ।
तर, राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरु बुधबारबाट सामुहिक अभ्यासका लागि मैदान प्रवेश गर्दैछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १० गतेबाट टिमको बन्द प्रशिक्षण राखेपछि खेलाडीहरुले लामो समयपछि एकसाथ मैदान उत्रन पाउने भएका हुन् ।
मंगलबार हुने कोरोना (पीसीआर) परिक्षणपछि खेलाडीहरु अभ्यासमा जुट्ने छन् । बन्द प्रशिक्षणमा सहभागिता जनाउन सबै खेलाडीहरु राजधानी आइसकेका छन् ।
लामो समयपछि एकसाथ मैदान फर्कन पाउँदा खेलाडीहरु निकै उत्साहित भएका छन् ।
नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल बन्द प्रशिक्षणलाई लिएर निकै उत्साहित छन् । कप्तान मल्ल यस प्रशिक्षण छुट्टिएको परिवारको पुनर्मिलन जस्तै हुने बताउँछन् ।
'प्रशिक्षण शुन्यबाट नै सुरु हुन लागेको भन्नु पर्यो, फ्रेस क्याम्प जस्तो । त्यतिका वर्ष सँगै खेलेको, बसेको खेलाडीहरु छौं, एउटा परिवारको हिस्सा थियौं । अब फेरी सबै एकै ठाउँमा बस्ने, रमाइलो गर्ने समय हो,' कप्तान ज्ञानेन्द्र भन्छन्, 'क्रिकेटपछि खेलाडी सामान्य जीवन शैलीमा आउँछ अब फेरी क्रिकेटमा फर्किने समय भएको छ । क्रिकेट नखेल्दा के नपुगेको जस्तो हुन्छ । अब सबैसँग भेट्न पाइन्छ । अब क्रिकेट सामान्य हुन्छ भनेर धेरै उत्साहित छु ।'
मल्लले कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि खेलाडीहरुले आफ्नो जिम्मेवारी, दायित्य र स्वास्थ्य प्रोटोकल उलंघन गर्न नहुने बताए ।
'पीसीआर नेगेटिभ आएमा सबै एकै ठाउँमा बस्न सकिन्छ भन्ने हो । तर, त्यसमा समेत हामी प्रोटोकल पालना गर्छौं । हामी सबैले बुझेको भोगेको कुरा हो, कोरोनालाई खेलाची गर्नु हुन्न,' कप्तान मल्लले थपे , 'होटल होस् या खेल मैदान, प्रोटोकलहरु पालना गर्छौं । पीसीआर नेगेटिभ आयो, हामीले जे गरेपनि हुन्छ भन्ने हैन । आफुलाई आइसोलेट गर्छौं।'
मल्लले बन्द प्रशिक्षणको समय खेलाडीले आफ्नो सुरक्षा सँगै अन्य खेलाडी तथा प्रशिक्षणमा संग्लग्न सबैको सुरक्षामा विचार पुर्याउनु पर्ने बताए ।
'आफ्नो सुरक्षा हो । मैदानमा पनि प्रोटोकल पालना गर्छौं जसले गर्दा अरुमा समेत भाइरस नसरोस । त्यैले सबै प्रक्रिया पुर्याएर मात्र प्रशिक्षण गर्छौं । समय समयमा सबैको पीसीआर परिक्षण गराउन जरुरी हुन्छ र गराउनु पर्छ,' मल्लले भने ।
यस्तै कप्तान मल्लले प्रशिक्षणको दौरान स्वास्थ्य समस्या भएमा खेलाडी स्वयमले आफ्नो दायित्व पुरा गर्नु पर्ने समेत बताए ।
'खेलाडीलाई स्वास्थ्यमा समस्या आयो भने व्यक्तिगत रुपमा आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । कोरोना कहाँबाट, कसलाई, कसरी हुन्छ केहीभन्न सकिने अवस्था छैन । त्यसैले यदि कुनै खेलाडी तथा संलग्न कोहीमा केही समस्या भयो भने आफैलाई सेल्फ आइसोलेट गराउने तथा टिमलाई जानकारी गराउने गर्नु पर्छ,' उनले थपे ।