काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने भएका छन् ।
अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन त्यसतर्फ जानु अघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने भएका हुन् ।
सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले राष्ट्रिय टोलीको क्याम्पमा करिब १० दिन सहभागी भएर सन्दीप अष्ट्रेलिया जाने जानकारी गराए ।
'डिसेम्बरको १४-१५ मा सन्दीप अष्ट्रेलिया जानेछन् । यद्दपी मिति भने पक्का भएको छैन,' सिवाकोटीले खेलपाटीसंग भने, 'अष्ट्रेलिया जानु अघि अस्न्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेत सामेल हुने छन् । करिब १० दिन जति उनले राष्ट्रिय टोलीमा बिताउने छन् ।'
लगातार तेस्रो पटक बिग बास खेल्न लागेका सन्दीपले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजन खेलेका थिए ।
यस्तै सिवाकोटीले सन्दीप आज बेलुका बन्द प्रशिक्षणको लागि सन्दीप काठमाडौं आइपुग्ने बताए ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारबाट टिमको बन्द प्रशिक्षण सुरु गर्दैछ । अन्तराष्ट्रिय तालिका नरहेपनि क्यानले लामो समयसम्म खेलाडीले प्रतिस्पर्धात्मक खेल र मैदानमा अभ्यास गर्न नपाएको भन्दै बन्द प्रशिक्षण सुरु गर्ने तयारीमा रहेको हो ।
बन्द प्रशिक्षणको लागि क्यानले २२ खेलाडीलाई बोलाएको छ । जसमा सन्दीप समेत रहेका छन् ।
क्यानले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक, फिजियो, ट्रेनर, ग्राउण्ड स्टाफ, होटल कर्मचारी लगायतको पीसीआर प्रशिक्षण मंगलबार गर्दैछ ।
कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो ।