चितवन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको अवलोकन गरेका छन् ।
एकदिने चितवन भ्रमणमा रहेका ज्ञानेन्द्रले सोमबार धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको अवलोकन गरेका हुन् ।
ज्ञानेन्द्रसँगै क्यानका सदस्य छुम्बी लामा, बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान लगायतका पदाधिकारीले पनि रंगशालाको अवलोकन गरेका थिए ।
रंगशाला अवलोकनपछि ज्ञानेन्द्रले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग समेत छलफल गरेका थिए ।
'पहिलो पटक अवलोकन गरेको धेरै काम भएको रहेछ । फोटोमा हेर्दा र अरूले भनेको सुन्दा भन्दा धेरै काम भएछ । खुसी लाग्यो । अध्यक्ष सिताराम कटेलसँग आफूहरुले सक्दो सहयोग गर्ने वाचा गरेको छु,' कप्तान ज्ञानेन्द्रले भने खेलपाटीसँग भने, 'ज्ञानेन्द्र आयो भन्ने हिसाबमा मात्र आएको हैन । सहयोग गर्न आएको हो र केही योगदान गर्ने छौं । धन्यवाद दिन चाहन्छु सिताराम मकट्टेलजिलाई । र नमुना मैदानलाई समेत जोगाउने सल्लाह दिएको छु ।'
रंगशालामा चारवटै स्ट्याण्डको पिल्लर उठाउने काम धमाधम भईरहेको छ । यस्तै मुख्य मैदानमा समेत पिच लेभलिङ र घाँस रोप्ने काम मात्र बाँकी रहेको छ ।
अहिले रंगशालाको मुख्य मैदानको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का काउन्सेलर तथा क्युरेटर श्रीलंकाका बन्दुला वार्नापुराको पूर्ण निगरानीमा मैदान निर्माण भईरहेको छ ।
कोरोना भाइरसको माहामारीको कारण बन्दुला नेपाल आउन नसकेको कारण मैदानको पिच लेभल गर्ने काम रोकिएको छ । बन्दुला आएपछि मुख्य मैदानको काम पूर्ण रुपमा सम्पन्न हुनेछ ।
यस्तै मुख्य मैदान नजिकै रहेको नमुना मैदानमा च्यारिटी खेलहरु हुँदै आएको छ । कोरोना माहामारीको कारण च्यारिटी खेलहरु समेत प्रभावित हुँदै आएको छ । नमुना मैदानमा राष्ट्रिय स्तरको प्रतियोगिता खेलाउन समेत सकिने फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनले आर्थिक अभाव झेल्नु नपरे अबको डेढ वर्षमा रंगशाला पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।
रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।