एजेन्सी । अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोना मेक्सिकोको दोस्रो श्रेणीको क्लबको म्यानेजरमा नियुक्त भएका छन् । उनी मेक्सिकन क्लब डोराडोस डी सिनालोआको म्यानेजरमा नियुक्त भएका हुन् ।
५७ बर्षका विश्वकप विजेता खेलाडी म्याराडोनाले देशलागि ९१ क्याप खेलेका थिए, सन् १९७७ देखि १९९४ सम्म । उनले सन् २००८ देखि २०१० सम्म अर्जेन्टिनी राष्ट्रिय टिमको प्रशिक्षणको रुपमा समेत काम गरेका थिए ।
उनले पछिल्लो समय युएईको क्लब अल फुजौरामा रहेर काम गरेका थिए । सो क्लबसंगको सम्झौता अप्रिलमा सकिएको थियो । मेक्सिकन पत्रिकाका अनुसार म्याराडोनाले फ्रान्सिस्को गेम्जको स्थान लिनेछन् । उनी गत मंगलबारमात्र बर्खास्तमा परेका थिए ।
क्लबले सामाजिक सञ्जालमा छोटो भिडियो पोस्ट गर्दै ‘स्वागत डिएगो’ लेखेको छ । म्याराडोनाले अर्जेन्टिनस जुनियर्स, बोका जुनियर्स, बार्सिलोना र नापोली लगायतका क्लबबाट खेलेका थिए ।
उनले १९८६ मा देशलाई खेलाडीको रुपमा विश्वकपको उपाधि जिताएका थिए । र सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्वकपमा देशको प्रतिनिधित्व गर्दै प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।