एजेन्सी । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न सक्ने भएका छन् ।
लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका सन्दीपले यस पटक होबर्टबाट खेल्न सक्ने क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
क्रिकेट अष्ट्रेलियाले सन्दीप अनुबन्धको लागि होबर्टले प्रक्रिया अघि बढाएको समेत जनाएको छ ।
यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए ।
'सन्दीप होबर्टसँग जोडिएका छन् । होबर्ट केइस अहमेदलाई बिस्थापित गर्त स्पिनर खोजिरहेको छ । जो यस बीबीएलमा उपलब्ध हुने छैनन्,' क्रिकेट अष्ट्रेलियाले आफ्नो वेबसाइटमा लेखेको छ ।
यस्तै अफगानिस्तानका स्पिनर जाहिर खानलाई सन्दीपको पूर्व टिम मेलबर्नले अनुबन्धन गरेको कारण सन्दीपले होबर्टबाट खेल्ने सम्भावना रहेको बताईएको छ ।
यस अघि डेलीमेलले समेत सन्दीपले होबर्टबाट बीबीएल खेल्ने बताएको थियो ।
होबर्टले आफ्नो अन्तिम विदेशी खेलाडी बिहीबार सार्वजनिक गर्दैछ ।
सन्दीपमा व्यवस्थापक रमन सिवाकोटीले समेत सन्दीपले यस सिजन नयाँ टिमबाट बीबीएल खेल्ने बताउँदै आएका छन् ।
सन्दीपले हालसम्म बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन् । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनमा मेलबर्न फाइनल पुगेको थियो ।