एजेन्सी । कराची किङ्स पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
लाहोरमा शनिबार भएको पहिलो क्वालिफायरमा मुल्तान सुल्तानलाई सुपर ओभरमा पराजित गर्दै कराची फाइनलमा प्रवेश गरेको हो ।
गद्दाफी क्रिकेट स्टेडियममा सुल्तानले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कराचीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा कराचीले २ विकेट गुमाएर १३ रन बनाएको थियो । सुल्तानले ९ रन मात्र जोड्न सक्यो ।
सुपर ओभरमा जानु अघि कराचीका बाबर आजमले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान इमाद वासिमले अविजित रहदै २७ रन जोड्दा एलेक्स हेल्सले २२ रन जोडे ।
सुल्तानको सोहिल तान्भिरले ३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुल्तान सुल्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
सुल्तानको लागि रबि बोपाराले ४० रन जोड्दा सोहिल तान्भिरले अविजित २५ रन बनाए । जिसन आश्रफले २१ रन जोडे ।
कराचीका अश्रद इकबाल र वाकस माक्सुदले २/२ विकेट लिए ।
यससँगै कराची पहिलो पटक पीएसएलको फाइनलमा प्रवेश गरेको छ । यस अघि कराची फाइनल पुगेको थिएँन ।
सुल्तानले अब दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा पेशावर जाल्मीले लाहोर कलान्दर्ससँग खेल्नेछ ।