ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । बिहिबार भएकाे खेलमा नेपालले १० खेलाडीमा सिमित भुटानलाई ४ - ० ले हराएको हो ।
बंगबन्धु रंगशालामा पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै सहज जित निकालेको थियो । नेपालले खेलमा अग्रता २१ औ मिनेटमा अनन्त तामाङको गोलबाट लिएको थियो ।
सुनिल बलको कर्नरमा अनन्तले गोल गरेका थिए । ६९ औ मिनेटमा उनै सुनिलले नेपालको अग्रतालाई दोब्बर पारे । विमल घर्तिमगरले प्रहार गरको पेनाल्टी असफल भएपछि फर्किएको बलमा सुनिलले गोल गरेका थिए ।
तेस्रो गोल भरत खवासको नाममा रह्यो । खवासले ७९ औ मिनेटमा गोल गरेका थिए । मैदान छिरेको चौथो मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाउदै भरतले गोल गरेका थिए ।
खेल सकिन २ मिनेट बाँकी रहदा निराजन खड्काले गोल गर्दै नेपाललाई ४ - ० को फराकिलो अन्तरको जित दिलाए ।
जितसंगै नेपालले सेमिफाईनलको सम्भावना कायम राखेको छ । समूह ए को नेपालले २ खेलबाट ३ अंक जोडेको छ ।
नेपालले अब शनिबार समूह चरणको अन्तिम खेलमा बंगलादेशसंग खेल्नेछ ।
यसै समूहको अर्को खेलमा पाकिस्तानलाई १ - ० ले पराजित गर्दै बंगलादेश समूहको शिर्ष स्थानमा रहेको छ ।