चितवन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको अवलोकन गरेका छन् ।
चितवन भ्रमणमा रहेका पारसले सोमबार धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको अवलोकन गरेका हुन् ।
पारससँगै क्यानका सदस्य छुम्बी लामाले पनि रंगशालाको अवलोकन गरेका थिए ।
रंगशाला अवलोकनपछि पारसले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग समेत छलफल गरेका थिए ।
अहिले रंगशालामा चारवटै स्त्याण्डको पिल्लर उठाउने काम धमाधम भईरहेको छ । यस्तै मुख्य मैदानमा समेत पिच लेभलिङ र घाँस रोप्ने काम मात्र बाँकी रहेको छ ।
हालसम्म रंगशालाको मुख्य मैदानको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का काउन्सेलर तथा क्युरेटर श्रीलंकाका बन्दुला वार्नापुराको पूर्ण निगरानीमा मैदान निर्माण भईरहेको छ ।
कोरोना भाइरसको माहामारीको कारण बन्दुला नेपाल आउन नसकेको कारण मैदानको पिच लेभल गर्ने काम रोकिएको छ । बन्दुला आएपछि मुख्य मैदानको काम पूर्ण रुपमा सम्पन्न हुनेछ ।
यस्तै मुख्य मैदान नजिकै रहेको नमुना मैदानमा च्यारिटी खेलहरु हुँदै आएको छ । कोरोना माहामारीको कारण च्यारिटी खेलहरु समेत प्रभावित हुँदै आएको छ । नमुना मैदानमा राष्ट्रिय स्तरको प्रतियोगिता खेलाउन समेत सकिने फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनले आर्थिक अभाव झेल्नु नपरे अबको डेढ वर्षमा रंगशाला पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।
रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।