एजेन्सी । इंग्ल्यान्डका ब्याट्सम्यान जोनी बेयरस्टोले मेलबर्न स्टार्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
मेलबर्नले सोमबार इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान बेयरस्टोलाई अनुबन्ध गरिएको जनाएको छ ।
३१ वर्षीय ब्याट्सम्यानले पहिलो पटक बीबीएल खेल्न लागेका हुन् ।
विश्वकप विजेता बेयरस्टोलाई पहिलो विदेशी खेलाडीको रुपमा मेलबर्नले अनुबन्ध गरेको हो ।
मेलबर्नले उनी क्रिसमसपछि टिममा सामेल हुने जनाएको छ ।
बेयरस्टोले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट सनराइजर्स हैदराबादबाट खेलेका थिए ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।
मेलबर्न स्टार्सले डिसेम्बर ११ मा ब्रिसबेन हिटसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
यस सिजनमा हरेक बीबीएल टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् ।
यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो ।
यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईने छ ।