काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जन एउटा कोसेढुंगा पार गर्ने संघारमा छन् । २७ बर्षका खेलाडी राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमानको नजिक छन् ।
बंगलादेशमा जारी साफमा भुटानविरुद्ध मैदान प्रवेश गरे विराजले त्यो कोसेढुंगा पार गर्नेछन् ।
प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी राजुकाजी शाक्यको नाममा ६८ क्यापको कीर्तिमान छ, विराजले त्यही भंग गर्न लागेका हुन् । अझ भनौ एउटा नयाँ इतिहास कोर्न लागेका हुन् ।
सन् २०१५ को साफमा भारतविरुद्धको खेलमा ५० क्याप जितेका विराज अब ऐतिहासिक दिनको प्रतिक्षामा छन् ।
'यसलाई व्यक्तिगत रुपमा ठुलो उपलब्धि मान्छु किनकि जो कोहिले चाहेर पनि यो उपलब्धि हासिल गर्न सक्दैन् । धेरैले क्षमता भएपनि पाउदैनन्,' कप्तान विराज भन्छन्, 'सानै देखीको मेहेनत, प्रशिक्षक, समर्थकहरुको मायाले यहाँसम्म पुगे । मेरोलागि गर्वको कुरा हो ।'
साफको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको थियो । टिमको कप्तानी विराजले गरेका थिए । सो खेलसंगै विराजले पूर्व कप्तान तथा प्रशिक्षक शाक्यसंगको ६८ क्यापको कीर्तिमान बराबरी गरेका छन् ।
जारी साफमा नेपाललाई नकआउट चरण पुग्न बिहिबार भुटानविरुद्धको खेल महत्वपुर्ण छ, सोही खेलमा विराजको नाममा नयाँ कीर्तिमान समेत लेखिने तय छ ।
सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै विराटले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । पोखरामा भएको उक्त मैत्रीपूर्णमा खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै विराजले डेब्यु गरेका थिए ।
राष्ट्रिय टिमबाट विराजको नाममा एक गोल छ । सन् २०१० मा कीर्गिस्तानविरुद्ध उनले ४५ यार्ड टाढाबाट सुन्दर फ्रिकिक गोल गरेका थिए ।
राष्ट्रिय टिमको कप्तान रहेका विराजले पहिलो कप्तानीको रुपमा २०१५ को साफ च्याम्पियनसिपमा अवसर पाएका थिए । श्रीलंकाविरुद्ध नियमित कप्तान अनिल गुरुङ प्लेईङ सेटमा नपरेपछि उनले पहिलो पटक नेपाल राष्ट्रिय टिमको कप्तानी समाल्ने अबसर पाएका थिए । उनले प्राप्त अवसरलाई खेर फालेनन् र सफल पनि भए ।
विराज नेपाली फुटबलका सर्वाधिक सफल कप्तान हुन् । उनकै कप्तानीमा नेपालले लामो उपाधिको खडेरीलाई तोड्दै एकपछि अर्को सफलता हात पारेको थियो । २३ बर्षपछि अन्तराष्ट्रिय उपाधिको रुपमा बंगबन्धु गोल्डकप, सोलिडारिटी कप र सागको स्वर्ण उनकै नेतृत्वमा नेपालले हात पारेको थियो ।
विराज काठमडौंको त्रिपुरेश्वरमा जन्मे । राजधानीका रैथाने उनी एन्फा एकेडेमीका दोस्रो ब्याचका खेलाडी हुन् । उनी नेपाली टिमका भरपर्दा डिफेन्डर हुन् । जो राइट ब्याकबाट खेल्छन् । तर, डिफेन्सको चारै भूमिकामा खेल्न सक्ने खुबी उनको छ ।
अन्तिममा कीर्तिमान विराज कसलाई समर्पण गर्छन त ?
‘मेरा बुवा, आमा र सम्पुर्ण फुटबल प्रेमीहरुमा मेरो कीर्तिमान समर्पित छ ।’ उनी भन्छन् । ‘देशकालागि अझै केही बर्ष खेल्न सक्छु ।’ उनी थप्छन्, ‘साफ लगत्तै सन्यास लिने बिषय सोचेको छैन । जवसम्म मेरो शरिरले साथ दिन्छ, त्यसबेला सम्म म खेलिरहन्छु ।’