एजेन्सी । दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ ।
आबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले पहिले बलिङ गर्ने भएको छ । टस जितेर दिल्लीले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
बैंगलोरले भने सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
तर, सन्दीपले लिग चरणको अन्तिम खेल समेत नखेल्ने भएका छन् । दिल्लीले बैंगलोरविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा राखेको छैन ।
तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार १४ औं खेलमा प्लेइङ सेटमा नपरेका हुन् ।
शेख जायद क्रिकेट स्टेडियममा आज दुबै टिम जितको खोजीमा रहेका छन् । किनकि प्ले अफमा पुग्न दुबै टिमका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
लिग चरणको अन्तिम खेलका लागि मैदान उत्रदा दिल्ली र बैंगलोरलाई प्ले अफ पुग्न जित्नै पर्ने हुन्छ ।
दिल्ली १३ खेलमा १४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलमा समान अंक जोडेको बैंगलोर दोस्रो स्थानमा रहेको छ ।
यस खेलको विजेताले प्ले अफमा स्थान बनाउने छन् । तर, पराजित हुने टिमको प्ले अफ यात्रा लिग चरणको अन्तिम खेलले मात्र तय गर्नेछ।
लिग चरणको अन्तिम खेलमा प्ले अफ पुगिसकेको मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ ।
अन्तिम खेलमा मुम्बईले जित निकालेमा दिल्ली र बैंगलोरबीचको खेलमा पराजित हुने टिम समेत प्ले अफ पुग्नेछ । हैदराबाद विजयी भएमा नेट रेन रेटको आधारमा शीर्ष चारमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।