एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले आबुधाबीमा बैंगलोरसँग लिग चरणको अन्तिम खेल्न लागेको हो । दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट स्टेडियममा मैदान उत्रदा दुबै टिम जितको खोजीमा हुनेछ । किनकि प्ले अफमा पुग्न दुबै टिमका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
लिग चरणको अन्तिम खेलका लागि मैदान उत्रदा दिल्ली र बैंगलोरलाई प्ले अफ पुग्न जित्नै पर्ने हुन्छ । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली १३ खेलमा १४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलमा समान अंक जोडेपनि विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर दोस्रो स्थानमा रहेको छ ।
यस खेलको विजेताले प्ले अफमा स्थान बनाउने छन् । तर, पराजित हुने टिमको प्ले अफ यात्रा लिग चरणको अन्तिम खेलले मात्र तय गर्नेछ।
लिग चरणको अन्तिम खेलमा प्ले अफ पुगिसकेको मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ ।
अन्तिम खेलमा मुम्बईले जित निकालेमा दिल्ली र बैंगलोरबीचको खेलमा पराजित हुने टिम समेत प्ले अफ पुग्नेछ । हैदराबाद विजयी भएमा नेट रेन रेटको आधारमा शीर्ष चारमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।
यसै सिजन दुई बीचको पहिलो भेटमा दिल्लीले बाजी मारेको थियो । दुबईमा दिल्लीले ५९ रनको जित निकालेको थियो ।
दिल्ली त्यहिँ जितलाई कायम राख्ने योजनामा समेत हुनेछ । बैंगलोर भने अघिल्लो भेटमा ब्यहोरेको हारको बदला लिन चाहन्छ ।
तर, लिग चरणको अन्तिम खेलमा समेत सन्दीपले मौका पाउने सम्भावना कम रहेको छ ।
यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई यस अघिको १३ खेलमा बेञ्चमा राखेको थियो ।