ढाका । बंगलादेश ढाका, साफ च्याम्पियनसिप २०१८ । स्थान बंगबन्धु रंगशाला, बिहिबार बेलुका । खेल - भुटानविरुद्ध नेपाल ।
सम्भवत, नेपाली फुटबलको लागि यो ऐतिहासिक दिन हुनेछ । कीर्तिमान बन्नेछ । अर्को इतिहास नबनेसम्म इतिहासमा दर्ज भईरहनेछ ।
राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले यस इतिहास बनाउने छन् । अर्थात्, विराज नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक बढी खेल खेल्ने खेलाडी बन्नेछ ।
साफ च्याम्पियनसिप अन्तर्गत मंगलबार पाकिस्तानविरुद्ध खेल्दै विराजले पुर्व कप्तान राजुकाजी शाक्यसंगको ६८ औ क्यापको कीर्तिमान बराबर गरेका थिए । र, बिहिबार भुटानविरुद्ध मैदान उत्रन पाए विराजले नयाँ कोशेढुंगा पुरा गर्नेछन् । राष्ट्रिय टोलीका लागि ६९ औं क्याप खेल्ने छन् ।
सन् २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका कप्तान विराज त्यसयता निरन्तर राष्ट्रिय टोलीमा रहेका छन् । पोखरामा भएको उक्त मैत्रीपूर्णमा खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै विराजले डेब्यु गरेका थिए ।
सन् २०१५ बाट नेपाली टोलीका कप्तानी सम्हाल्दै आएका विराज अहिले खेल जीवनको अन्त्यतिर पनि छन् । फुटबल परिवारमा हुर्किएका विराज त्रिपुरेश्वर वरिपरी फुटबल खेलेर हुर्किएका थिए । विराजका दाजु विक्रम महर्जन र काका रत्नजीत महर्जन पनि राम्रै खेलाडी रहेका थिए । दुवैले उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
एन्फा एकेडमीका दोस्रो ब्याचका खेलाडी विराज नेपालको लागि सफल कप्तान समेत रहेका छन् । विराजको नेतृत्वमा नेपालले बंगबन्धु कप, सोलिडारिटी कप र साग गेम्समा नेपाललाई स्वर्ण दिलाएका थिए ।
घरेलु लिग मनाङ मर्स्याङ्दीबाट खेल्दै आएका कप्तान विराज डिफेन्सको सबै चार पोजिसनमा फिट हुने खेलाडी हुन् । ओभरल्यापमा गएर फरवार्डको लागि बल क्रस गर्न माहिर विराजले थ्रीस्टारबाट पनि लामो समय क्लब फुटबल खेलेका छन् ।
नेपाली टोलीका लागि सर्वाधिक क्याप खेल्न लागेका २९ वर्षीय कप्तान विराजले सन्यासबारे भने सोचेका छैनन् । खेलाडीको उच्च प्रदर्शनमा अनुशासन र समर्पण महत्वपूर्ण रहने बताउने विराजले सर्वाधिक क्यापअघि संचारकर्मीसंग कुराकानी गरेका छन् ।
विराजले संचारकर्मीसंग गरेको कुराकानीको सम्पादित अंश :
आफ्नो देशको लागि खेल्न पाउनु, फुटबल जगतको लागि खेल्न पाउनु नै ठुलो कुरा लाग्छ, गर्वको कुरा लाग्छ ।
यो उपलब्धि म व्यक्तिगत रुपमा ठुलो उपलब्धि मान्छु किनकि जो कोहिले चाहेर पनि यो उपलब्धि हासिल गर्न सक्दैन् । धेरैले क्षमता भएपनि पाउदैन ।
सानै देखीको मेहेनत, प्रशिक्षक, समर्थकहरुको मायाले यहाँसम्म पुगे । मेरोलागि गर्वको कुरा हो ।
मैले पहिलेबाटै भन्दै आएको छु । मेरो सफलता भनेको परिवार हो । मेरो आमा, बाबा, काका दाई, सम्पूर्ण परिवारको सहयोगको कारण हो ।
म जुनै ठाउमा भएपनि दाईलाई, बाबालाई बिर्सन्न, म सानो हुँदा दाईको पछिपछि जाने, दाईको खेल हेर्न जाने गर्थे त्यहिँबाट फुटबल मेरो प्यासन भयो । त्यहिँ कारणले म यो ठाउमा छु ।
फुटबलमा मात्र हैन, जुनै पनि क्षेत्रमा अनुशासन चाहिन्छ । जब आफु भन्दा ठुलोलाई आदर गर्दैन र सानोलाई माया गर्दैन भने त्यो खेलाडीमा समस्या हुन्छ । जीवनमा उ अगाढी बढ्न सक्दैन जस्तो लाग्छ ।
मैले पनि सानो हुँदा धेरै सिनियर दाईहरु र प्रशिक्षकहरुसंग खेल्न पाए । अहिलेका भाईहरु धेरै क्षमतावान खेलाडी हुनुहुन्छ । उहाहरुले अनुशासन पुरा गर्नु भएन भने सोचेको जस्तो माथी जान सक्नु हुन्न । अनुशासन र समर्पण महत्वपूर्ण हुन्छ । आफ्नो विगत र इतिहास बिर्सन्न हुन्न ।
मैले लामो समयबाट खेल्दै आएको छु । सधै खेलिरहन स्वास्थ्यले पनि साथ दिनु पर्छ । मैले खेलिरहदा वा सिनियर खेलाडीको स्थानमा कसैले नेतृत्व गर्न सक्छ भने हामीले छाड्नु पर्छ भन्ने सोचेको छु । आफ्नो शरीरले भ्याएसम्म खेल्नेछु ।
मेरो करियरमा नेपाली फुटबल तलमाथि भईरह्यो । कति जित्यौ कति हार्यौ । अहिले आएर नेपाली फुटबल केहि खस्किएको छ । एकनासे प्रदर्शन छैन ।
मेरो करियरमा धेरै नेपाली फुटबलमा धेरै परिवर्तन आएको छ । पहिले कम गोल खाने तरिकाले खेल्थ्यौ भने अहिले जित्ने तरिकाले खेल्छौ । टिम प्लान अनुसार खेल्छौ । हामीले हाम्रो फुटबल एकनास तरिकाले लैजान सके हामी धेरै माथि जान सक्छौं ।'