एजेन्सी । इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सका पुर्व मिडफिल्डर क्लाउडियो मार्चिसियोले रसियन प्रिमियर लिग खेल्ने भएका छन् ।
युभेन्ट्ससंगको लामो यात्रा यसै सिजन टुंगाएका भेट्रान प्ले मेकर मार्चिसियो रुसी क्लब जेनित सेन्ट पिटर्सवर्गमा अनुबन्धित भएका छन् । इटालीका मिडफिल्डर मर्चिसियोले गत अगष्टबाट युभेन्ट्सको २५ बर्षे यात्रा अन्त्य गरेका थिए ।
मार्चिसियोले जेनितसंग २ वर्षे सम्झौता गरेका छन् । सम्झौतापछि मार्चिसियोले भने, 'सम्झौतामा कुनै शंका छैन । मलाई यस क्लब मन पर्छ । मलाई महत्वकाक्षा मन पर्छ । युभेन्ट्स छाडेपछि मैले अन्य इटालियन क्लबमा अनुबन्ध नहुने वाचा गरेको छु ।'
३२ बर्षीय मार्चिसियो युभेन्ट्सको युथ टोलीबाट सिनियर टिममा आएका खेलाडी हुन् । मार्चिसियोले सिनियर टोलीमा सन् २००६ मा गरेका थिए । जतिबेला युभेन्ट्स सिरी ए फुटबलको बि डिभिजनमा रहेको थियो ।
बल ब्वाई हुँदै खेलाडी बनेका मार्चिसियोले युभेन्ट्सबाट ३८९ खेल खेलेका थिए । जसमा मार्चिसियोले युभेन्ट्सबाट ७ पटक सिरी ए लिग र ४ पटक कोप्पा इटालिया जितेका छन् । उनले युभेन्ट्सबाट ३७ गोल गरेका छन् ।
पछिल्लो समय इन्जुरीको कारण मार्चिसियोले आफ्नो खेलको जादु देखाउन सकेका थिएनन् । सन् २०१६ मा घुडाको इन्जुरीले ६ महिना मैदान बाहिर रहेका मार्चिसियोले गत सिजन २० खेल खेलेका थिए ।
मार्चिसियोले इटालीबाट ५५ खेल खेलेका छन् ।