एजेन्सी । अवैधानिक रुपमा खेलाडी अनुबन्ध गर्न खोजेको आरोप लागेको इटालियन क्लब इन्टर मिलानले फिफाबाट कुनै कारबाही भोग्न नपर्ने भएको छ ।
स्पेनिस क्लब रियल मड्रिडले आफ्ना खेलाडीलाई अवैधानिक रुपमा भित्र्याउन खोजेको भन्दै मिलानविरुद्ध फिफामा उजुरी हालेको थियो ।
मिलानले क्रोएसियन मिडफिल्डर लुका मोड्रिचलाई नियम विपरित अनुबन्ध गर्न खोजेको भन्दै रियलले फिफामा उजुरी हालेको थियो ।
रियलको उजुरीपछि फिफाले छानविन गर्दा मिलान दोषी नरहेको पुष्टि भएपछि फिफाले मिलानलाई सफाई दिएको हो । र, फिफाले मिलानले कुनैपनि कारबाही भोग्नु नपर्ने जनाएको छ ।
इटालियन ट्रान्सफर विन्डोमा मोड्रिच भित्राउन असफल मिलानले डेटलाइन सकिएपछि पनि मोड्रिचलाई ल्याउन प्रयास गरेको थियो ।
रुसमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनल तय गराउन मोड्रिचले महत्वपूर्ण भूमिका खेलेका थिए । विश्वकपमा निकै उच्च प्रदर्शन गरेपछि मिलानले मोड्रिच भित्राउन खोजेको हो । विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मोड्रिचले गोल्डेन बल जितेका थिए ।
३२ बर्षिय मोड्रिच सन् २०१२ मा इन्ग्लिश क्लब टोटेनहमबाट रियल आएका थिए । उनले दुईवर्ष अघि २०२० सम्म क्लबमा रहने गरी सम्झौता गरेका थिए । रियलबाट उनले एक पटक ला लिगा र चार पटक च्याम्पियन्स लिग जितेका छन् ।