एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ ।
आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेकाे हाे ।
शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए ।
बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २/२ विकेट लिए । क्रिस मोरिसले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । ४५ बलमा उनले १२ चौका र १ छक्का प्रहार गरे ।
यस्तै जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए ।
गुर्किरात सिंहले अविजित १४ रन जोड्दा वासिङ्गटन सुन्दर १० रनमा अविजित रहे । कप्तान विराट कोहली ९ रनमा आउट भए ।
मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । उनले आईपीएलमा १ सय विकेटको आँकडा समेत पुरा गरेका छन् ।
राहुल चाहर, केइरन पोलार्ड र ट्रेन्ट बोल्टले १/१ विकेट लिए ।
यस जितसँगै मुम्बईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।
जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।
बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ ।