काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट डिसेम्बरबाट सुरु हुँदैछ ।
कोरोना भाईरसको महामारी कायम रहेपछि क्रिकेट अष्ट्रेलियाले दुई महिना चल्ने बीबीएलको मिति तय गरिसकेको छ ।
नयाँ संस्करणको बीबीएल डिसेम्बर ४ बाट सुरु हुने तालिका रहेको छ । बीबीएलको खेल तालिका समेत सार्वजनिक भईसकेको छ ।
यतिबेला बीबीएलमा सहभागी टिमहरु स्वदेशी र विदेशी खेलाडी भित्र्याउने प्रक्रियामा रहेका छन् ।
नेपालबाट बलर सन्दीप लामिछानेले मात्र बीबीएल खेलेका छन् । सन्दीपले दुई सिजनको लिग खेलिसकेका छन् ।
नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजनको लिग खेलिसकेका छन् । गत सिजन सन्दीप आबद्द मेलबर्न उप विजेता बनेको थियो ।
मेलबर्नका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका सन्दीपले यस सिजन भने फरक टिमबाट खेल्ने सम्भावना रहेको छ ।
नयाँ सिजनका लागि सन्दीपलाई अनुबन्धन गर्न मेलबर्नसहित अन्य ३ टिमले चासो देखाएको छ । तर, सन्दीपले खेल्ने टिमको अझै टुंगो लाग्न सकेको छैन ।
सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले केहि दिनमा सन्दीपले खेल्ने टिम तय हुने बताए ।
'यस पटक ३-४ वटा टिमले सन्दीपलाई अनुबन्धन गर्न चाहेको छ । खेल्दै आएका मेलबर्न स्टार्ससंगै केही अन्य टिमले समेत चासो देखाएका छन्,' शिवाकोटीले खेलपाटीसँग भने, 'कुन टिमबाट बिग बास खेल्ने अझै टुंगो त लागेको छैन । सम्झौता नभएपनि सबै टिमसँग राम्रै कुरा भएको छ । केही दिनमा नै सबै टुंगो लाग्छ ।'
शिवाकोटीले ४ टिमसँग कुरा भएको बताएपनि टिमको नाम सार्वजनिक गर्न चाहेनन् ।
'हामीसँग सम्झौता सार्वजनिक गर्ने अनुमति समेत हुँदैन । जे हुन्छ सबै उनीहरुले नै गर्ने हो,' उनले थपे, 'सबै टिमसँग सकारात्मक कुरा भएको छ । आइतबारसम्म उताबाटै सार्वजनिक होला ।'
नयाँ सिजनको लिगमा ३ विदेशी खेलाडी खेलाउन पाउने भएपछी सन्दीप माथि अन्य टिमले समेत चासो दिएको अनुमान गरिएको छ ।
यसअघि खेलमा टिमले मात्र २ विदेशी खेलाडी खेलाउन पाउने प्राबधान रहेको थियो ।
सन्दीपले सन् २०१७/१८ को सिजनमा मेलबर्न स्टार्सबाट बीबीएलमा डेब्यु गरेका थिए । कम खेल खेलेपनि उत्कृष्ट प्रदर्शन गरेका सन्दीपको अर्को सिजनको लागि समेत सम्झौता बढाएको थियो ।
सन्दीपले बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिन सफल छन् ।
२० वर्षीय लेग स्पिनर सन्दीप अहिले इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि युएईमा रहेका छन् ।
दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिजनको आईपीएल खेलिरहेका सन्दीपले मैदान उत्रने मौका भने पाएका छैनन् ।