एजेन्सी । अष्ट्रेलिया भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सोमबार अष्ट्रेलिया भ्रमणको लागि टेस्ट, एकदिवसीय र टी-ट्वान्टी टिमको घोषणा गरेको हो ।
तीनै फर्म्याटको कप्तानी विराट कोहलीले गर्ने छन् । तर, टिमको उपकप्तान रोहित शर्मा र बलर इशान्त शर्माले भने अष्ट्रेलिया भ्रमण गुमाउने छन् ।
रोहित र इशान्त तीनै फर्म्याटको टिममा परेका छैनन् । दुबै खेलाडी चोटको कारण टिम बाहिर रहेको बीसीसीआईले जनाएको छ ।
टेस्ट टिमको उपकप्तान अजिन्का रहाने रहेका छन् भने एकदिवसीय र टी-ट्वान्टीको उपकप्तान केएल राहुल रहेका छन् ।
भारतले आगामी नोभेम्बरबाट जनवरीसम्म अष्ट्रेलियाको भ्रमण गर्नेछ । भ्रमण दौरान दुई टोलीले एकदिवसीय, टी-ट्वान्टी र टेस्ट सिरिज खेल्नेछ ।
दुई टिमबीच नोभेम्बर २७, २९ र डिसेम्बर १ मा एकदिवसीय सिरिज हुनेछ । डिसेम्बर ४, ६ र ८ मा टी-ट्वान्टी खेल हुनेछ ।
त्यसपछि डिसेम्बर १७ बाट टेस्ट सिरिज सुरु हुनेछ । दुई टिमबीच अन्तिम तथा तेस्रो टेस्ट जनवरी १५ मा सुरु हुनेछ ।
भ्रमणको दौरान दुबै देशका खेलाडी सरकारले तयार गरेको कोरोना प्रोटोकल नियम पालना गर्नु पर्नेछ ।
अष्ट्रेलिया पुगेपछि भारतीय टिम २ हप्ता क्वारेन्टिनमा बस्नु पर्नेछ । यस्तै आईपीएल खेलेर फर्किएका अष्ट्रेलियाका खेलाडी समेत क्वारेन्टिनमा बस्नु पर्नेछ ।