काठमाडौं । राष्ट्रिय खेलकुद परिषद खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजनामा काठमाडौंमा जारी कागेश्वरी मनोहरा यू–१६ टी- ट्वान्टी सान क्रिकेट कप प्रतियोगिता स्थगित भएको छ ।
बर्षाका कारण मुलपानी क्रिकेट मैदानमा पानी जम्नुका साथै विकेटमा समेत प्रभाव परेका कारण प्रतियोगिता असार ६ गते सम्मका लागि स्थगित गर्नु परेको आयोजक खेलकुद बिज्ञान प्रतिष्ठानले विज्ञप्तिबाट जानकारी गराएको छ ।
‘राष्टिय खेलकुद परिषद्, खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा जेष्ठ २७ गते देखि आषाढ ५ गते सम्म संचालन भईरहेको कागेश्वरी मनोहरा यू–१६ टी- ट्वान्टी सान क्रिकेट कपको लिग चरणका सम्पूर्ण खेलहरु सकिएको छ,' प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आषाढ २ गते देखि क्वाटरफाईनलका खेल हुनु पर्नेमा बर्षातका कारण खेल मैदानमा पानी जम्नका साथै विकेटमा पनि प्रभाव पर्दा प्राविधिक कमिटि, सहभागी स्कुल र आयोजक कमिटको बैठकबाट असार ६ गते सम्मका लागि खेल स्थगित गरिएको छ ।'
यस्तै प्रतिष्ठानले ६ गतेबाट मुलपानी क्रिकेट मैदानमा खेल संचालन गरिने र तर, उक्त मैदानमा खेल हुन नसकेमा किर्तिपूरस्थित टियु मैदानमा खेल आयोजना गरिने जनाएको छ । टियुमा पनि खेल संचालन हुन नसके प्रतियोगिता संचालनको नियमानुसार बिजयी टिमको छिनोफानो गरिने प्रतिष्ठानले जनाएको छ ।