एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) हुने दोस्रो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा मुम्बई र पन्जाब आफ्नो नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बई सातौं जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई दोस्रो स्थानमा रहेको छ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई पन्जाबलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबविरुद्ध जित निकाल्न मुम्बईलाई कठिन भने हुनेछ ।
पन्जाब पनि तेस्रो जितको रहेको छ । पन्जाब ८ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।
प्ले अफको सम्भावना जीवितै राख्न पन्जाबलाई जितको विकल्प छैन ।
यस्तै पन्जाब मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।
सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो ।
मुम्बईविरुद्ध पन्जाबले राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडी मैदान उतार्ने छन् ।
मुम्बईलाई कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडीको साथ रहने छ ।