एजेन्सी । भारतमा जनवरीबाट घरेलु क्रिकेट सुरु हुने भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले घरेलु क्रिकेट जनवरी १ बाट हुने बताएका छन् ।
कोरोना भाईरसको कारण गत मार्चबाट भारतमा क्रिकेट गतिविधि ठप्प रहेको छ ।
तर, शनिबार बसेको बीसीसीआईको एपेक्स कमिटीको बैठकले जनवरी १ बाट घरेलु सिजन सुरु गर्ने निर्णय गरेको हो ।
'हामीले घरेलु क्रिकेटबारे बृहत छलफल गरेका छौं र हामीले प्रतियोगिता १ जनवरीबाट सुरु गर्ने अस्थायी निर्णय गरेका छौं,' गांगुलीले भने ।
तर, गांगुलीले सबै प्रतियोगिता गर्न सम्भव नरहेको र रणजी ट्रफी प्राथमिकतामा पर्ने समेत बताए ।
'हामीसँग रणजी ट्रफी हुनेछ । तर, सबै प्रतियोगिता सम्भव छैन,' गांगुलीले थपे, 'उमेर समूह र महिला क्रिकेटका लागि पनि योजना छन् । हामी रणजीबाट सुरु गर्नेछ । मार्च र अप्रिलबीच अन्य प्रतियोगिताहरु हुनेछ ।'