एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) हुने पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीमा कोलकत्ता र हैदराबाद नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । कोलकत्ता र हैदराबादबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जितसहित ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।
इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता हैदराबादलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ ।
तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न कोलकत्तालाई कठिन भने हुनेछ ।
हैदराबाद पनि चौंथो जितको खोजीमा रहेको छ । हैदराबादले ८ खेलमा ६ अंक जोडेको छ र पाँचौ स्थानमा रहेको छ ।
कोलकत्तालाई हराएर हैदराबाद अंक तालिका सुधार गर्न चाहन्छ ।
यस्तै हैदराबाद कोलकत्तासँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा कोलकत्ताले हैदराबादलाई ७ विकेटले हराएको थियो ।
हैदराबादले कोलकत्ताविरुद्ध वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी मैदान उतार्ने छन् ।
कोलकत्तालाई मोर्गनसँगै दिनेश कार्तिक, आन्द्रे रसेल, आन्द्रे रसेल,कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडीको साथ रहने छ ।