काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) हङकङसंग प्रतिस्पर्धा गर्दैछ ।
अघिल्ला चार खेलमा दुई जित र दुई हार निकालेको नेपालले अन्तिम खेलमा हङकङविरुद्ध खेल्न लागेको हो । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार बिहान ७:१५ मा सुरु हुनेछ ।
एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल हङकङलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ । छनोटको विजेताले उपाधिसहित एसिया कपमा स्थान बनाउनेछन् । तर, एसिया कपमा छनोट हुने नेपालको सम्भावना निकै कम रहेको छ ।
एसिया कपमा छनोट हुन नेपालले हङकङविरुद्ध चमत्कारी जित निकाल्नु पर्नेछ । गणितीय सम्भावना बाँकी रहेको नेपालले जितेर मात्र हुँदैन । अन्य खेलको नतिजामा पनि भरपर्नु पर्ने हुन्छ ।
'गर या मर' को स्थितिमा रहेको नेपालले चार खेल सकिदा ४ अंक जोडेको छ । र, नेपाल चौथो स्थानमा रहेको छ । पाँच अंक जोडेको हङकङ तेस्रो स्थानमा छ । यस्तोमा नेपालले हङकङलाई फराकिलो अन्तरले हराएमा र युएईले ओमानलाई पराजित गरेमा नेपालको सम्भावना प्रवल रहन्छ । ओमान ७ अंक जोडेर शीर्ष स्थानमा रहदा ६ अंक जोडेको युएई दोस्रो स्थानमा रहेको छ ।
नेपाल भर्सेस हङकङ (हेड टु हेड)
हङकङविरुद्ध पछिल्लो पाँच खेलमा नेपालले हार बेहोर्नु परेको छैन । नेपाल र हङकङबीच मध्ये एक खेल नतिजाविहिन बनेको छ । यस्तोमा नेपालले आज हङकङलाई हराउने अड्कल काटिएको छ ।
सन् २०१० (एसीसी एलिट ट्रफी) : नेपाल ११८ रनले विजयी
सन् २०१२ (एसीसी एलिट ट्रफी) : नेपाल १२५ रनले विजयी
सन् २०१४ (एसीसी प्रिमियर लिग ) : नेपाल ७ विकेटले विजयी
सन् २०१७ (एसीसी इमर्जिङ टिम्स कप) : नेपाल ५ विकेटले विजयी
सन् २०१८ (आईसिसी विश्वकप छनोट अभ्यास खेल) : खेल स्थगित