एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) लिग लिडर दिल्ली क्यापिटल्स र साविक विजेता मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र मुम्बई आफ्नो सातौं खेलका लागि मैदान उत्रने छन् । दिल्ली र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट स्टेडियममा दिल्ली छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ६ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।
श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली मुम्बईलाई हराएर शीर्ष स्थानमा कायम राख्न चाहन्छ ।
दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ । तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई अघिल्ला ६ खेलमा बेञ्चमा राखेको थियो ।
बलियो टिम मुम्बईविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।
यता, रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई पाँचौ जितको खोजीमा हुनेछ । मुम्बई ६ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
दिल्लीलाई हराएर मुम्बई शीर्ष स्थानमा उक्लन चाहन्छ ।
मुम्बईले दिल्लीविरुद्ध कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडी मैदान उतार्ने छन् ।
दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, ऋषब पन्त, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडीको साथ रहने छ ।