एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा हैदराबाद र राजस्थान आफ्नो सातौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद चौंथो जितको खोजीमा हुनेछन् ।
अघिल्ला ३ खेलमा हैदराबादले ३ हार र ३ जित निकालेको छ । हैदराबाद ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
राजस्थानलाई हराएर हैदराबाद अंक तालिका सुधार गर्न चाहन्छ ।
तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउँन हैदराबादलाई सहज हुने छैन ।
राजस्थान पनि हैदराबादलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ । पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानले ६ खेलमा २ जित र ४ हार व्यहोरेको छ ।
हैदराबादविरुद्ध राजस्थानले इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सलाई मैदान उतार्ने सम्भावना रहेको छ ।
घरायसी कारण सुरुवाती खेलहरु गुमाएका स्टोक्स टिमको प्रशिक्षणमा फर्कीसकेका छन् ।
यस्तै राजस्थानले कप्तान स्मिथसहित डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन् ।
हैदराबादले भने कप्तान वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी मैदान उतार्ने छन् ।