काठमाडौं । सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले ललित ग्राण्डी अस्पतालबाट मंगलबार डिस्चार्ज भएको जनाएको छ ।
अस्पतालबाट डिस्चार्ज भएपनि ललितले केहि महिना आराम गर्नु पर्नेछ । त्यसपछि भने ललित रिहाबमा सामेल हुनेछन् ।
गत भदौ २८ गते धनगढीबाट महेन्द्रनगर जादै गरेको ट्रकले ललित सवार मोटर साईकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा लगत्तै उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।
कोहलपुरबाट ललितलाई हेलिकप्टरबाट भदौ २९ गते काठमाडौं ल्याइएको थियो ।
चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए ।
यस्तै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ललितको सहयोगार्थ उठेको सहयोग रकम हस्तान्तरण गरेको छ ।
सिप्यानले संकलन गरेको १० लाख ८ हजार मध्ये ६ लाख २८ हजार ललितको श्रीमतीलाई हस्तान्तरण गरेको हो ।
३ लाख ८० हजार भने ललितलाई काठमाडौं ल्याउदा प्रयोग भएको सिम्रिक एयरलाई तिरेको सिप्यानले जनाएको छ ।