एजेन्सी । साबिकको बिजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले नव प्रवेशी क्लब सोसिडाड डिपोर्टिभा हुएस्कामाथि ८ - २ गोलको फराकिलो जित निकालेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र लुइस स्वारेजले २ - २ गोल गरे । यस्तै ओसुमाने डेम्बेले, इभान राकीटिच र जोर्डी अल्बाले १ - १ गोल गरे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
हुएस्काका जोर्गे पुलिडोले आत्मघाती गोल गर्दा जुवान हर्नान्डेज र एलेक्स गाल्लरले १ - १ गोल फर्काए ।
क्याम्प नाउमा बार्सिलोनाले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । खेलको तेस्रो मिनेटमै हर्नान्डेजको गोलबाट पाहुना टोलीले अग्रता बनाएको थियो । तर, खेलको १६ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए । २४ औं मिनेटमा जोर्गेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेल २ - १ को अग्रता बनायो ।
पहिलो हाफको ३९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३ - १ को अग्रता दिलाए । त्यसको तीन मिनेट नबिदै ४२ औं मिनेटमा हुएस्काका एलेक्सले गोल गर्दै खेल ३ - २ अवस्थामा ल्याए ।
दोस्रो हाफमा बार्सिलोनाले गोलको वर्षा गर्दै थप पाँच गोल गर्यो । ४८ औं मिनेटमा डेम्बेलेले गोल गर्दै खेल ४ - २ को स्थितिमा पुर्र्याए । खेलको ५२ औं मिनेटमा राकीटिच र ६१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६ - २ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा अल्बा र ९० औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ८ - २ को जित दिलाए ।
यसै खेलबाट मेस्सीले ३७ क्लबविरुद्ध गोल गर्ने खेलाडीको कीर्तिमान बनएक छन् ।
योसंगै बार्सिलोनाले लिगमा लगातार तेस्रो जित निकाल्न सफल भएको छ । जितपछि शीर्ष स्थानमा फर्किएको बार्सिलोनाले ३ खेलबाट ९ अंक जोडेको छ ।
हुएस्काको यो पहिलो हार हो । हुएस्काले ३ खेलबाट ४ अंक जोडेको छ ।