एजेन्सी । साविक विजेता मुम्बई इण्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
सारजाहमा आइतबार सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हो ।
सारजाह क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।
कप्तान डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेलेपनि हैदराबादलाई जित दिलाउन सकेनन् ।
यस्तै मनिस पाण्डेले ३० रन जोड्दा जोनी बेयार्स्टोले २५ रन बनाए ।
मुम्बईका ट्रेन्ड बोल्ट, जस्प्रित बुम्राह र जेम्स प्याटीनसनले २/२ विकेट लिए । कुर्नाल पाण्डयले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।
मुम्बईका लागि क्विन्टन डी ककले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै इशान किसनले ३१ रन तथा सूर्यकुमार यादबले २७ रन बनाए । हार्दिक पाण्डयले २८ रन जोड्दा कप्तान रोहित शर्मा ६ रनमा आउट भए ।
केइरन पोलार्डले अविजित २५ र कुर्नाल पाण्डयले अविजित २० रन बनाए ।
हैदराबादका सन्दीप शर्मा र सिदार्थ कउलले २/२ विकेट लिए । राशिद खानले १ विकेट लिए ।
जितसँगै मुम्बईले ५ खेलमा ६ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा समेत उक्लिएको छ ।
हैदराबादको भने यो तेस्रो हार हो । छैटौं स्थानको हैदराबादले ५ खेलमा ४ अंक जोडेको छ ।