एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । आइतबार भएको खेलमा १० खेलाडीमा सिमित युनाइटेडले बर्नलीलाई २ - ० ले हराएको हो ।
अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको युनाइटेडले बर्नलीलाई उसैको मैदानमा हराएको हो । युनाइटेडलाई जित दिलाउन रोमेलु लुकाकुले दुवै गोल गरे ।
लुकाकुले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको २७ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । खेलको ४४ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा युनाइटेडलाई २ - ० को अग्रता दिलाए ।
दोस्रो हाफमा युनाइटेडले थप गोलको अवसर पाएको थियो । तर, खेलको ६९ मिनेटमा पाएको पेनाल्टीमा पाउल पोग्बाले गोल गर्न नसक्दा युनाइटेड फराकिलो जित निकाल्न असफल भयो ।
पोग्बाको पेनाल्टी प्रहार यसै सिजन क्लब आएका इन्ग्लिश किपर जोय हर्टले बचाएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र युनाइटेडले लुकाकुको दुई गोलबाट महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।
यस्तै खेलको अन्तिम २० मिनेट भ्रमणकारी टोली युनाइटेड १० खेलाडीमा समेटिएको थियो । खेलको ७१ औं मिनेटमा मार्कुस राष्फोर्डले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा खेलेको सिमित भएको थियो । बर्नलीका फिलसंग झगडा गर्न पुग्दा राष्फोर्डले कार्ड पाएका थिए ।
जितसंगै युनाइटेडले ४ खेलबाट ६ अंक जोडेको छ । यस्तै तीन खेलमा पराजय बेहोरेको बर्नलीको १ अंक रहेको छ ।