एजेन्सी । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोक नाथ प्याकुरेललाई कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो हप्ता भरतपुरको चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी बनेका चन्द र प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि दुवै जना एकान्तवासमा रहेका छन् । दुवैको अवस्था सामान्य रहेको क्यान स्रोतले खेलपाटीलाई बतायो ।
कोरोना महामारीबीच क्यानले असोज ६ गते भरतपुरमा बोर्ड बैठक आयोजना गरेको थियो । बैठकले खेलाडीको केन्द्रिय सम्झौता देखि प्रतियोगिताका तालिका सार्वजनीक गरेको थियो ।
अध्यक्ष र सचिवलाई कोरोना संक्रमण देखिएपछि चितवन बैठकमा सहभागी अधिकांश सदस्य एकान्तवासमा बसेका छन् भने अधिकांशले कोरोना परिक्षण गराएका छन् । धेरै जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
परिक्षणको क्रममा क्यान उपाध्यक्ष राजुबाबु श्रेष्ठ सहित कोषाध्यक्ष रोशनकुमार सिंहको भने रिपोर्ट नेगेटिभ आएको छ । क्यानले आन्तरिक रुपमा बैठक सहभागी सबैलाई कोरोना परिक्षणका लागि अनुरोध समेत गरेको छ ।