चितवन । सडक दुर्घटनामा घाइते भएका क्रिकेटर ललित सिंह भण्डारीलाई चितवन टाइगर्स लगायतका संस्थाले आर्थिक सहयोग गरेका छन् ।
चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग मिलेर १ लाख ११ हजार १ सय ११ रुपैंया ११ पैसा उपचारका लागि प्रदान गरेको हो ।
तीब्र गतिका बलर ललितले २०१७ र २०१८ को एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सबाट खेलेका थिए ।
चितवन टाइगर्सका मालिक एवंम लायन्स कर्पोरेट नेपालका संस्थापक अध्यक्ष किशोर भट्राई, अध्यक्ष शुशील विष्टले बुधबार ग्रान्डी अस्पतालमा पुगेर ललितकी श्रीमति ममतालाई चेक प्रदान गरेका थिए ।
सो अवसरमा चितवन टाइगर्सका मार्की एवंम राष्ट्रिय खेलाडी सोमपाल कामी र राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास, लायन्स क्लबका कोषाध्यक्ष रमेश रुपाखेती उपस्थित रहेका थिए ।
यस्तै अमेरिका स्थित नेपाल राइनोज क्रिकेट क्लबको डालास शाखाले ललितको उपचारका लागि ७५ हजार ८ सय ३१ रुपैंया प्रदान गरेका गरेको छ । राइनोजका संयोजक राकेश कर्णमार्फत अमेरिकामा उठाइएको रकम सोमपालमार्फत ललितकी श्रीमति ममतालाई बुधबार हस्तान्तरण गरिएको थियो ।
गत साताको आईतबार राति धनगढीबाट महेन्द्रनगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।
त्यसको दोस्रो दिन भने ललितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ललितको उपचार काठमाडौंको ग्राण्डी अस्पतालमा भईरहेको छ।