एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियलले लेगानेसलाई ४ – १ ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले एक एक गोल गरे । लेगानेसका गुइडो कार्रील्लोले एक गोल फर्काए ।
सान्टियागो बेर्नाबेउमा खेलको १७ औं मिनेटमा बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । तर, खेलको २४ औं मिनेटमा लेगानेसका कार्रील्लोले पेनाल्टीमा गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।
पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले तीन गोल गर्यो । ४८ औं मिनेटमा बेन्जिमा गोल गर्दै रियललाई २ – १ को अग्रता दिलाए ।
खेलको ६१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले अग्रता ३ – १ को बनायो । त्यसपछि ६६ औं मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गर्दै रियललाई ४ – १ को सहज जित दिलाए ।
यो रियलको लगातार तेस्रो जित हो । जितसंगै रियलले ३ खेलबाट ९ अंक जोडेको छ । रियल शीर्ष स्थानमा छ । पराजित लेगानेसको यो दोस्रो हार हो । लेगानेसले १ अंक जोडेको छ ।
ला लिगा अन्तर्गत नै साबिकको उपविजेता एट्लेटिको मड्रिड भने पराजित भएको छ । एट्लेटिकोलाई सेल्टा भिगोले २ – ० ले हराएको हो ।