एजेन्सी । इटालियन सिरी ए फुटबलमा साबिकको विजेता युभेन्ट्सले जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले पर्मालाई २ – १ गोल अन्तरले हराएको हो ।
पर्मालाई उसैको मैदानमा हराउन युभेन्ट्सका लागि मारियो मान्डुज्की र ब्लैज माटुइडीले एक एक गोल गरे । पर्माका लागि जर्भिन्होले एक गोल फर्काए ।
पहिलो हाफको दोस्रो मिनेटमै मान्डुज्कीको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा पर्माका जर्भिन्हो गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याए । तर, खेलको ५८ औं मिनेटमा माटुइडीले गोल गर्दै युभेन्ट्सलाई २ – १ को जित दिलाए ।
युभेन्ट्सको यो लगातार तेस्रो जित हो । तर, युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले भने अझै गोल गर्न सकेका छैनन् । स्पेनिस क्लब रियल मड्रिडबाट यसै सिजन क्लब आएका रोनाल्डोको डेब्यु गोल अझै कुर्नु पर्ने भएको छ । गोल मेसिन मानिने रोनाल्डोले तीनै खेल खेलेपनि गोल गर्न नसकेका हुन् ।
यो जितसंगै युभेन्ट्सले ३ खेलबाट ९ अंक जोडेको छ । र, युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । दुई खेल गुमाएको पर्माको एक अंक छ ।