एजेन्सी । साबिकको विजेता म्यानचेस्टर सिटीले इन्ग्लिश प्रिमियर लिगमा न्युकासल युनाइटेडमाथि साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले न्युकासललाई २ - १ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र केली वाल्करले एक एक गोल गरे । न्युकासलका डीआन्द्रे एडलिनले एक गोल फर्काए ।
इदिहाद स्टेडियममा खेलको आठौं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३० औं मिनेटमा न्युकासलका एडलिनले गोल गरेपछि पहिलो हाफ १ - १ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा सिटीका लागि नायक बने वाल्कर । खेलको ५२ औं मिनेटमा ३० यार्ड टाढाबाट वाल्करले उत्कृष्ट गोल गर्दै सिटीलाई २ - १ को महत्वपूर्ण जित दिलाए ।
जितसंगै सिटीले ४ खेलबाट १० अंक जोडेको छ । सिटीको यो तेस्रो जित हो । लिगको तेस्रो स्थानमा रहेको सिटीले ४ खेलमा ३ जित र १ बराबरी खेलेको छ ।
न्युकासलको यो लगातार तेस्रो हार हो । न्युकासलले ४ खेलबाट मात्र १ अंक जोडेको छ ।