काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप प्रतियोगितामा नेपाल समूह 'ए' मा परेको छ । बंगलादेश फुटबल फेडेरेसनले शनिबार सार्वजनिक गरेको ड्रमा नेपाल समूह 'ए' मा परेको हो ।
साबिकको बिजेता समेत रहेको नेपालको समूहमा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । बंगबन्धु गोल्डकप अक्टोबर १ देखि १२ सम्म बङ्गलादेशको ढाकामा आयोजना हुनेछ ।
राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । समूह 'बी' मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेको छ ।
सन् २०१६ को संस्करणको बंगबन्धु गोल्डकपको उपाधि नेपालले जितेको थियो । जुन नेपालले २३ बर्षपछि ठुलो उपाधि चुमेको हो ।
नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा विमल घर्तीमगर,नवयुग श्रेष्ठ र बिशाल राईले गोल गरेका थिए ।