काठमाडौं । एसिया कप छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । समूह चरणको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गरेको हो ।
बायुमास ओभलमा नेपाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६९ रन बनाउन सक्यो ।
मलेसियाका लागि अनवार अरुदीन र साईद अजाजले सर्वाधिक समान ३४\३४ रन बनाएका थिए । नेपालकालागि वसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी, सन्दिप लामिछानेकाे नाममा समान २\२ विकेट रह्याे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ८८ रन बनाएकाे थियो । बर्षाको कारण ढिला सुरु भएकाे खेल ३० ओभरमा झारिएको थियो ।
मलेसियाविरुद्ध नेपालकाे सुरुवात भने खराब रह्याे । नेपालले ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाईसकेको थियो ।
तर, दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अर्धशतकीय इनिङस खेल्दै नेपालको इनिङस सम्हालेका थिए । दिपेन्द्र र आरिफले ८८ बलमा १०१ रनको साझेदारी गरेका थिए ।
दिपेन्द्र ५१ बलमा ५४ रन बनाएर आउट भए । उनले १ छक्का र ६ चौका प्रहार गरे । यस्तै आरिफ ४८ बलमा ६४ रन बनाएर अविजित रहे । आरिफले २ छक्का र ५ चौका प्रहार गरे ।
यस्तै नेपालका लागि अनिल कुमार साहले १६ रन जोड्दा कप्तान पारस खड्काले १३ रन बनाए ।
मलेसियाका स्याजरुल इजाट इड्रुस र सर्भिन मुनेनडीले समान ३र३ विकेट लिए ।
जितसंगै नेपालले तालिकामा २ अंक जोडेको छ । र, नेपालले एसिया कपको फाइनल खेल्ने सम्भावना कायम राखेको छ ।
अब नेपालले आइतबार सिंगापुरसंग खेल्नेछ ।
छनोटको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । विजेता टोलीले युएईमा हुने एसिया कप खेल्नेछन् ।