काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई जितका लागि १८९ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३० ओभर खेल्दै ७ विकेट गुमाएर १८८ रन बनायो । बर्षाको कारण खेल ढिला सुरु हुँदा खेल ३० ओभरमा झारिएको थियो ।
मलेसियाविरुद्ध नेपालले सुरुवात भने खराब गरेको थियो । नेपालले ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाईसकेको थियो । तर, दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अर्धशतकीय इनिङस खेल्दै नेपालको इनिङस सम्हालेका थिए । दिपेन्द्र र आरिफले ८८ बलमा १०१ रनको साझेदारी गरेका थिए ।
दिपेन्द्र ५१ बलमा ५४ रन बनाएर आउट भए । उनले १ छक्का र ६ चौका प्रहार गरे । यस्तै आरिफ ४८ बलमा ६४ रन बनाएर अविजित रहे । आरिफले २ छक्का र ५ चौका प्रहार गरे ।
यस्तै नेपालका लागि अनिल कुमार साहले १६ रन जोड्दा कप्तान पारस खड्काले १३ रन बनाए ।
मलेसियाका स्याजरुल इजाट इड्रुस र सर्भिन मुनेनडीले समान ३/३ विकेट लिए ।