काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत नेपालले घरेलु टोली मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
बायुमास ओभलमा वर्षाको कारण ढिला सुरु भएको खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपाल र मलेसियाबीचको खेल ३०-३० ओभरको हुनेछ । खेल निर्धारित समयमा सुरु हुन नसकेपछि ३० ओभरमा घटाइएको हो ।
छनोटको अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध खेल्न लागेको हो । एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीलाई हराएर आफ्नो लक्ष्य जीवितै राख्न चाहन्छ ।
मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा समेत रहने छ । यसअघि नेपाल पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको थियो ।
एसिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाबमा रहेको छ । पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप सपना सकिनेछ । नेपाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । र, अघिल्ला दुई पराजयले नेपालको एसिया कप एक कदम पछाडी सरेको छ ।
राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष दुई मध्येको एक टोलीले एसिया कपको टिकट काट्ने छ । अर्थात्, शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनलको विजेताले एसिया कप खेल्नेछ ।
गर या मरको स्थितिमा रहेको नेपालले बाँकी रहेको ३ खेल मध्ये एक खेल गुमाए नेपालको एसिया कप सकिनेछ । ३ खेलमा शतप्रतिशत जित निकाले नेपालको सम्भावना रहन्छ । तर, अन्य टिमको प्रदर्शनमा नेपाल भर पर्नु पर्ने हुन्छ ।
नेपाल भर्सेस मलेसिया (हेड टु हेड)
मलेसियाविरुद्ध पछिल्लो पाँच एकदिवसीय खेलमा नेपालले पराजय बेहोर्नु परेको छैन । यस्तोमा नेपालले आजपनि मलेसियालाई हराउने अड्कल काटिएको छ ।
सन् २०१० (एसीसी एलिट ट्रफी) : नेपाल ८ रनले विजयी
सन् २०१० (विश्व क्रिकेट लिग डिभिजन-४) : नेपाल १० विकेटले विजयी
सन् २०१२ (एसीसी एलिट ट्रफी) : नेपाल २१ रनले विजयी
सन् २०१४ (एसीसी प्रिमियर लिग) : नेपाल ५ विकेटले विजयी
सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-३ ) : नेपाल डिएलको आधारमा ३६ रनले विजयी