एजेन्सी । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्रोएसियासंगको मैत्रीपूर्ण खेल र युईएफए नेशन्स लिग अन्तर्गत इटालीविरुद्धको खेल नखेल्ने भएका छन् ।
पोर्चुगलले क्रोएसियासंग आगामी सेप्टेम्बर ७ मा मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै युईएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलले सेप्टम्बर १० मा इटालीसंग प्रतिस्पर्धा गर्दैछ । तर, रोनाल्डो क्रोएसिया र इटालीविरुद्धको खेलमा अनुपस्थित रहने भएका छन् ।
क्रोएसियासंगको खेलका लागि पोर्चुगलले घोषणा गरेको टोलीमा रोनाल्डो परेका छैनन् । रोनाल्डो आफ्नै चाहना अनुसार पोर्चुगलको टोलीमा नपरेका हुन् । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर रोनाल्डोले आराम गर्ने बताईएको छ ।
'खेलाडीसंग कुरा गरेपछि र उनको युभेन्ट्स सरुवा प्रक्रियाको कारण यि खेलमा उनको अनुपस्थिति उपयुक्त हुने हामीले बुझेका छौं,' पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भनेका छन् ।
स्पेनिस क्लब रियल मड्रिडबाट यसै सिजन युभेन्ट्स गएका रोनाल्डोले पोर्चुगलको टिमबाट निकै कम मैत्रीपूर्ण खेल्ने गरेका छन् । पछिल्लो २० मैत्रीपूर्ण खेलमा रोनाल्डोले ८ खेल मात्र खेलेका छन् ।
गत महिना रुस विश्वकपमा ह्याट्रिक गरेका रोनाल्डोले पोर्चुगलबाट १५४ खेल खेल्दै ८५ गोल गरिसकेका छन् । रोनाल्डोले रुस विश्वकपमा पोर्चुगललाई अन्तिम १६ सम्मको यात्रा तय गराएका थिए ।